काठमाडौँ : यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचनका लागि मतदान अधिकृतले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची-३३ बमोजिमको हुने किसिमले मतदान केन्द्र बनाउनुपर्छ ।
निर्वाचन आयोगका अनुसार मतदाता प्रवेश गर्ने द्वारमा ‘भित्र’ र मतदाता बाहिर निस्कने द्वारमा ‘बाहिर’ लेखिएको कार्ड सबैले देख्ने गरी टाँस्नुपर्छ । मतदान केन्द्रको बाहिरपट्टि सबैले देख्ने गरी धूम्रपान निषेधित क्षेत्र तथा हातहतियार निषेध लेखिएको कार्ड झुन्ड्याउनुपर्छ ।
मादक पदार्थ सेवन गरेर जाँदा मतदाता भएपनि भोट हाल्न पाइने छैन । मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान पाइने छैन ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ का अनुसार मतदानको दिन मतदानकेन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति मात्र जान पाउने छन् । महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?