काभ्रेको १० पालिकामा मत गणना सम्पन्न : अधिकांश पालिकामा प्रमुख/उप–प्रमुखमा गठबन्धनको जित

काभ्रे : जिल्लामा वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत गणना कार्य जारी छ । काभ्रेको १३ स्थानीय तहमध्ये १० वटा पालिकामा मत गणना कार्य सम्पन्न भइसकेको छ । जिल्लाको धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकाको मत गणना जारी छ ।
बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका र चौँरीदेउराली गाउँपालिकाको मत गणना कार्य सम्पन्न भइसकेको छ ।
मत गणना सम्पन्न भइसकेको अधिकांश स्थानीय तहको प्रमुख/उप–प्रमुख, अध्यक्ष/उपाध्यक्ष पदमा गठबन्धनले जित हासिल गरेको छ । जिल्लाको बनेपा नगरपालिका र पनौती नगरपालिकाको उप–प्रमुखमा मात्रै नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् ।