भुम्लुका नवनिर्वाचित पालिका अध्यक्ष भुजेलद्वारा ‘रोग निवारण कोष’को स्थापना
काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले ‘रोग निवारण कोष’को स्थापना गरेका छन् । पालिका अध्यक्ष भुजेलले पदभार ग्रहण गरेसँगै पहिलो दिन प्राणघातक रोगको निशुल्क उपचारका लागि ‘रोग निवारण कोष’को स्थापना गरेका हुन् ।
उनले मृगौला, क्यान्सर, मस्तिष्काघात लगायतका प्राणघातक रोग लागेका गाउँपालिकाभित्रका नागरिकहरुको निशुल्क उपचार गर्ने गरी ‘रोग निवारण कोष’ स्थापना गरेका हुन्। ‘मृगौला, मस्तिष्क घात जस्ता प्राणघातक रोगको उपचारका लागि धेरै खर्च लाग्ने रहेछ,’ उनले भने, ‘त्यसको सहजतासँगै विपन्न नागरिकहरु आर्थिक अभावको कारण झन् मारमा परेको देखिएकोले पहिलो प्राथमिकता स्वास्थ्यलाई राखेर उक्त कोषको स्थापना गरिएको हो।’
गाउँपालिकाको अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष भुजेलले गाउँपालिकाभित्र स्वास्थ्यसँगै शिक्षा, यातायात लगायतलाई आवश्यकताको आधारमा प्रथमिकता दिएर आफ्नो कार्यकालभित्र नै समृद्ध भुम्लु बनाउनेमा जोड दिइने बताए।