मुगुमा यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई जनाको मृत्यु
मुगु : मुगुमा यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई जनाको मृत्यु भएको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको हो
मुगम कार्मारोङ गाउपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए ।
टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकित्स बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको मृत्यु भएको मुगुम कार्मारोङ गाउपालिका वडानं-७ का वडाअध्यक्ष शसांक लामाले जानकारी दिए ।
उनका अनुसार एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुई जनाको मृत्यु भएको छ । बुधबारमात्रै यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहको कोइकी पाटनमा लेक लागेर मृत्यु भएको थियो ।
नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब निरीक्षका सुवास हमालले बताए ।