
काभ्रे : वैशाख ३० गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित भएका काभ्रेका १३ वटै स्थानीय तहका जनप्रतिनिधिलाई काभ्रे उद्योग वाणिज्य संघले बधाई तथा सम्मान कार्यक्रम सञ्चालन गरेको छ । आइतबार संघद्वारा आयोजित निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसछेँको अध्यक्षता र उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
बधाई एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै धुलिखे नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले राजनीति र पार्टीलाई एकातिर राखेर संस्थागत कार्य आवश्यक रहेको बताउँदै सबै मिलेर विकासका काम गर्न आग्रह गरे । त्यस्तै कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले नगरको विकासका लागि अग्रसर भएको र खानेपानी, बनेपा डुवान, फोहोर व्यवस्थापन लगायतका समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधानका लागि काम गर्ने योजना सुनाए ।
उद्योगी व्यवसायीले सबै क्षेत्रमा सबैसँग समन्वय गरि विकासमा सहयोग गर्ने र व्यवसायीलाई स्थानीय सरकार र केन्द्रीय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र बैदारले बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पंछसेले दिर्घकालिन विकासतर्फ उद्योग वाणिज्य संघ लागि परेको र यसका लागि स्थानीय सरकारले साथ सहयोग दिनुपर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख चक्रराज जोशि, कालिजंग गण प्रमुख मिलन थापा उद्योगी व्यवसायी ,पत्रकार, राजनीतिकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।