काभ्रेका नव निर्वाचित जनप्रतिनिधिहरूलाई तामाङ पत्रकार संघको सम्मान कार्यक्रम
काभ्रे : वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका काभ्रेको १३ वटै स्थानीय तहका जनप्रतिनिधिलाई तामाङ पत्रकार संघले सम्मान गरेको छ। संघले बुधबार काभ्रेका नव–निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा आयोजना गरी सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले तामाङ भाषामा पाठ्य पुस्तक बनाएर विद्यालयमा लागु गरेको उल्लेख गर्दै त्यसको प्रभाव निक्कै रहेको बताए । साथै वाइबाले पत्रकारले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
त्यसै गरी खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले पत्रकारहरूले आफूहरूलाई सधैँभरि सचेत गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, नमोबद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा लगायतले पत्रकारिताको माध्यमबाट आफूहरूलाई सहयोग गर्न अनुरोध गरे ।
उक्त कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य ईश्वरी ओझा, प्रेस चौतारी नेपालका महासचिव हिरामान वाइबा, प्रेस सेन्टरका केन्द्रीय सदस्य ग्याम्जो लामा, फोटो पत्रकार महासंघ, काभ्रेका अध्यक्ष केशवराज पौडेल लगायतले निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा कार्यकाल शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ वाग्मती प्रदेशका इन्चार्ज तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य पेमा लामा, प्रेस सेन्टरका जिल्ला अध्यक्ष रोजन तामाङ, प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, आदिवासी जनजाति पत्रकार महासङ्घका जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा, तामाङ पत्रकार सङ्घका केन्द्रीय सचिव शिशिर दोङ, प्रदेश सचिव जगर तामाङ लगायतका सहभागी रहेका थिए ।