‘सहकारीको अवधारणामा ठेकेदार प्रवृत्तिमा आएको’ : पूर्वअर्थमन्त्री खतिवडा

काभ्रे : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएको बताएका छन् । आइतबार जिल्लाको धुलिखेलमा जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकको आयोजनामा सुरु भएको व्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठीलाई सम्बोधन गर्दै श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने पूर्व मन्त्री खतिवडाले बताए।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खतिवडाले श्रमिक वर्ग एकआपसमा मिलेर पूँजी निर्माण गरी आयआर्जनको काम गरे मात्र त्यो श्रम सहकारी हुने बताए । यसका लागि अरु कुनै नाम दिइराख्न नपर्ने उनले जनाए । सहकारीले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्न सकिने उनको भनाइ छ ।

‘चुनौतिपछि नयाँ सामान्य अवस्था अँगाल्दै सहकारी’ भन्ने नारासहित सुरु भएको गोष्ठीमा जिल्लाका १२९ जना व्यवस्थापन प्रमुख तथा अधिकृतहरुको उपस्थिति रहेको संघका सिइओ ज्ञानेन्द्र दहालले बताएका छन् । कार्यक्रममा उनले काभ्रेको सहकारी अभियान र थिमका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

दुई दिने गोष्ठीको पहिलो दिनमा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौलाले प्रस्तुतिकरण गर्ने, राष्टिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा। देवराज रोकाले, प्रभावकारी ऋण असुली विषयमा प्रकाश पोखरेलले र सहकारीमा मोबाइल बैंकिङ विषयमा सन्जय महासेठले प्रस्तुति गर्ने तालिका रहेको छ ।

जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्टिय सहकारी महासंघका सञ्चालक डि.बी बस्नेत, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, राष्टिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, बागमति प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ, काभ्रेका सल्लाहकारहरु टिकाबल्लभ सापकोटा, विनोद पराजुली, मुकुन्दप्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि।का अध्यक्ष जितेन्द्र नकर्मी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, काभ्रेका अध्यक्ष विधान जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस