काभ्रेका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई भोलिदेखि कोरोना विरुद्धको खोप लगाइने
काभ्रे : जिल्लामा भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिकाकोरोना विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाइने भएको छ । बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउनका लागि सबे तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेद्वारा आयोजित पत्रकार सम्मेलनबाट जानकारी प्राप्त भएको छ ।
भोलि असार ९ गतेदेखि असार १७ गतेसम्म जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनि उमेर समूहका ४ हजार ६५६ जना बालबालिकालाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम सेढाईले जानकारी दिए । उनका अनुसारअसार ९ गतेदेखि १७ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।
बालबालिकालाई खोप लगाउनका लागि काभ्रेमा मात्रै ६४५ वा खोप केन्द्र तोकिएका छन् । कार्यालयले काभ्रेका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाउँदै छ । खोप लगाउनका लागि खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी राखिने छ ।
यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिनेछ । खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित संख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित संख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिनेछ ।
कार्यालय प्रमुख सेढाइले खोप लगाएमा बालबालिका केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सन समेत खोप केन्द्रमा राखिने छ । खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।