पाँचथरमा पहिरोले घर र गोठ पुर्दा एकै परिवारका तीन जना बेपत्ता
पाँचथर : पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
कार्यालयकाअनुसार स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर पहिरोले बगाएको हो । मगरलाई तत्काल प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएको छ।
पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको छ ।
बेपत्ताहरुको खोजी तथा उद्धार हिजो राति देखिनै भएको हो तर, बेपत्ताहरुलाई फेला पार्न नसकिएको उनले जानकारी दिए । बेपत्ताहरुको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको थप टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।