
दाङ : जुवा खेलिरहेको अवस्थामा सात जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । दाङ स्थित तुलसीपुरको एक होटेलबाट एक लाख बढी रकमसहित एक जना होटेल संचालकसहित सात जुवाडेलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका-१ घर भई हाल बबई गाउँपालिका-१ बस्ने ४१ वर्षीय टोपबहादुर बोहरा, त्रिवेणी-१ का ३७ वर्षीय श्रर्मराज थापा, त्रिवेणी– २ कारागिठीका ३६ वर्षीय गुमानसिंह बुढाथोकी, तुलसीपुर-५ बसपार्कका ४१ वर्षीय गुणबहादुर चलाउने छन्।
त्यसैगरी शारदा– १० पैंयाखर्कका २६ वर्षीय जितबहादुर चलाउने, ३४ वर्षीय अमरराज खड्का र तुलसीपुर-५ बसपार्कमा रातामाटा होटेल संचालन गर्दै आएका ३५ वर्षीय सेतिराम बुढाथोकी पक्राउ परेका छन्।
होटेलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा शनिबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालको नेतृत्वमा पुगेको प्रहरी टोलीले एक लाख दुई हजार तीन सय ६० रुपैयाँसहित सात जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले बताए। उनका अनुसार उनीहरूलाई जुवा ऐन अन्तरगत मुद्दा चलाएर कानुनी कारबाही हुने छ।