काभ्रेमा ६४ प्रतिशत रोपाइँ सकियो

काभ्रे : धान रोपाईं हुने क्षेत्रफलमध्ये जिल्लामा ६४ प्रतिशत किसानले रोपाइँ सकेको कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ । यस वर्ष समयमा नै वर्षात भएकाले अघिल्लो वर्षको तुलनामा १० प्रतिशत रोपाइँ चाँडै सकिएको केन्द्रका सूचना अधिकारी उमादेवी श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार दुई बाली लगाउने किसानले बाली भित्र्याउन नभ्याएका किसान र समयमा नै वर्षा भएपनि बिउ ढिला राखेका किसानको मात्रै रोपाइँ गर्न ढिला भएको हो ।

जिल्लाको कुल क्षेत्रफलको १ लाख ४० हजार ४ सय ८६ हेक्टर क्षेत्रफलमध्ये ६१ हजार ५ सय ९४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको छ । असार १५ गतेसम्म केन्द्रमा प्राप्त भएको विवरण अनुसार यस वर्ष लगाइने वर्षे धानको कुल क्षेत्रफल ९ हजार ३ सय ८५ हेक्टरमध्ये ५३ सय २ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको उनले जानकारी दिइन् ।

काभ्रेका १३ वटै स्थानीय तहमा धान उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । जिल्लाका कृषकहरुले खुमल ४, खुमल १०, खुमल १३, सावित्री, मकवानपुर १८, हाइव्रिड लगायतका धान लगाउने गरिएको छ ।  विशेष गरेर जिल्लाको पाँचखाल, पनौती, बनेपा, नाला, खोपासी, मण्डनदेउपुर, भकुण्डे, रोशी क्षेत्रमा बढी धान उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस