हैजा महामारीबाट कसरी जोगिने ?

काठमाडौं : काठमाडौंमा अहिलेसम्म १७ जनामा हैजाको संक्रमण देखिएको छ । अधिकांशमा दुषित पानीकै कारण हैजा भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

उपत्यकाको बल्खु,सानेपा, कीर्तिपुर, कागेश्वरी मनोहरा, टेकु, बागबजार, डिल्लीबजारलगायतका स्थानका नागरिकमा हैजा देखिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण हुनेगर्छ । यो ब्याक्टेरिया गर्मी तथा वर्षायाममा बढी सक्रिय रहन्छ। भिब्रियो कोलेराले आन्द्रामा संक्रमण गर्दा झाडावान्ता हुने चिकित्सकहरु बताउँछन् ।

काठमाडौंसहित देशभरमा देखिएका हैजाका बिरामीमा परीक्षणका क्रममा खाने पानीमा इकोली अर्थात् दिसा मिसावट भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अकस्मात र छिनछिनमा पानीजस्तो पातलो दिसा दिनमा २०–२५ पटक हुनु, लगातार दिसा र वान्ता भइरहनु हैजाको लक्षण हो । यस्तै, दिसा सुरुको अवस्थामा खैरो वा चौलानी रङको हुनु र पछि गएर दिसामा मासी तथा रगतको अंश देखिन थाल्नु, लगातारको दिसा र वान्ताका कारण शरीरमा पानीको कमी हुन थाल्नु र मुख, घाँटी सुक्नु र तिर्खा लागिरहनुपनि हैजाको लक्षण हो ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन हैजाबाट बच्न खानेकुरा राम्ररी पकाएको र ताजा हुनुपर्ने बताउँछन् । उनले भने, ‘पिउने पानी सफा, सुरक्षित र निर्मलीकरण गरेको हुनुपर्छ । धाराबाट आएको पानी विभिन्न समयमा ढलबाट मिसिएर आउने गरेको तपाई हामीलाई थाहा छ । सदैब पानी उमालेर पिउनुपर्छ । व्यक्तिगत सरससफाइको कमीबाट पनि झाडापखाला लाग्छ । शौच गरिसकेपछि राम्रोसँग हात धुनुपर्छ ।’

उनले भने,’खानेकुरा राम्रोसँग पकाएर खानुपर्छ । पानी सुरक्षित पर्‍यो । धाराबाट आएको पानी उमालेर पिउनुपर्‍ यो । काँचै खाने तरकारी, सागपात, फलफूलहरु सफा पानीले पखालेर खानुपर्छ ।’ डा.पुनले वर्षायाममा धेरै मात्रामा पानीजन्य रोगहरु हुने भन्दै त्यसबाट बच्न सरसफाइमा विशेष जोड दिनुपर्ने बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोला भेटिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । हैजाका बिरामी बढेसँगै काठमाडौं महानगरपालिकाले गत सोमबारबाट हैजासम्बन्धी समस्या समाधान गर्न हटलाइन टेलिफोन सञ्चालन गरेको छ । हैजासम्बन्धी समस्या समाधान गर्न २४ सै ११८० मा फोन गरेर आवश्यक जानकारी लिन सकिने काठमाडौं महानगरले जनाएको छ ।

नेपाल जनस्वास्थ्य संघले हैजाको महामारीबाट धेरै व्यक्तिहरुलाई एकैपटक संक्रमण भई ज्यानसमेत जान सक्ने भएकोले यसबाट बच्न स्वस्छ पानी र व्यक्तिगत सरसफाइको व्यवस्थापन अति जरुरी रहेको बताएको छ । हैजाबाट बच्नका लागि उमालेको वा क्लोरिन प्रयोग गरिएको खानेपानीको प्रयोग गर्ने, दिसापिसाब पछि र खाना खानुअघि अनिवार्य रुपमा साबन पानीले हात धुन विज्ञहरुको सुझाव छ ।

यस्तै, खाने कुरालाई सफा पानीले पखालेर मात्र खाने, बासी खानेकुरा नखाने, सेवा दिने सवै व्यक्तिले हात सफा गर्ने लगायतका व्यक्तिगत सरसफाइ गर्न तथा कसैलाई झाडापखालाको लक्षण देखिना साथ नजिकको स्वस्थ्य संस्था वा अस्पतालमा जान जनस्वास्थ्य संघले अनुरोध गरेको छ ।

हैजा फैलन सक्ने सम्भावित कारक तत्वहरुको नियन्त्रण गर्न उपत्यकाको खानेपानीको, बजारका जार तथा बोतलका पानीहरुको नमूना परीक्षण गर्ने, होटल, रेस्टुरेन्ट तथा बजारमा पाइने खानेकुराको गुणस्तर नियन्त्रण गर्ने तथा उपत्यकाको फोहोरको अबिलम्ब व्यवस्थापन गर्न आग्रह गरेको छ । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकको अनलाइन संस्करणमा प्रकाशन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस