मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सुनसरी : सुनसरीमा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । सुनसरीको भोक्राहा नरसिंह–५ मा आइतबार दिउँसो साढे ३ बजे भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२८प ४०९३ नम्बरको मोटरसाइकल र दक्षिणबाट उतरतर्फ हाइवे क्रस गर्दै गरेको को१९प ९९६५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा मोटरसाइकलमा सवार चार जना घाइते भएका थिए।
घाइते चारै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा ९९६५ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह-५ बस्ने ४५ वर्षीय रजाक मियाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।