अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
कैलाली : धनगढी उपमहानगरपालिका-९ गौरिकटानबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम ताम्राकारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रेमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित गोदावरी नगरपालिका-१२ बस्ने २९ वर्षीय धर्म बडौलालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से.७ प ६२३७ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार बडौलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट करिब ९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित मोरङ पथरी शनिश्चरे नगरपालिका बस्ने २२ वर्षीय मिलन दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका दर्जीलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२८ बगहीबाट करिब ९० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ३० वर्षीय रबिकान्त भारती र २८ वर्षीय सुनिल भारती रहेका छन् । यूपी ७० बीके ९९५५ नम्बरको कारलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा कारको डिकीमा लुकाई ल्याएको उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।