पानीमा डुबेर तीन बालबालिकाको मृत्यु
बुधबार, आषाढ २२, २०७९ | १४:३५:५२
काठमाडौं : विभिन्न स्थानमा पानीमा डुबेर तीन बालबालिकाको मृत्यु भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–२ बस्ने बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको घरको आँगनमा राखेको पानीको ड्रममा डुबेर मंगलबार दिउँसो मृत्यु भएको हो । घरमा खेल्ने क्रममा ड्रममा डुबेर अशक्त भएकी उनको नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुर स्कुल टोलस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय सन्तोष महराको मंगलबार मृत्यु भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगर बस्ने ८ वर्षीय सुचाङ रोका मगरको सोही ठाउँस्थित सुरई खोलामा डुबेर मंगलबार मृत्यु भएको छ ।