काभ्रे प्रहरीको सक्रियता : फरार प्रतिवादी धमाधम पक्राउ

काभ्रे : पछिल्लो समय जिल्लामा अपराधजन्य गतिविधि रोकथाममा जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियता बढ्दै गएको देखिन्छ ।
यो सातामा मात्रै वषौँदेखि विभिन्न मुद्दामा फरार रहेका आठ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । आइतबारदेखि बिहीबारसम्ममा प्रहरीले आठ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयले असार २३ गते बिहीबार विभिन्न मुद्दामा फरार रहेका मण्डनदेउपुर नगरपालिकाका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।
हातहतियार खरखजाना मुद्दामा फरार रहेका मण्डनदेउपुर नगरपालिका वडा नं १२ का ४४ वर्षीय प्रदिप कुमार राक्से ठकुरीलाई प्रहरीले असार २३ गते बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार ठकुरीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७७ साल माघ ५ गते सजायको फैसला गरेको थियो , अदालतको फैसलापछि ठकुरी फरार रहेका थिए ।
त्यस्तै सार्वजनिक अपराध मुद्धामा फरार रहेका मण्डनदेउपुर नगरपालिका वडा नं ३ का र ३३ वर्षीय सञ्जय गुरुङलाई पनि प्रहरीेले असार २३ गते बिहीबार पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार गुरुङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७२ माघ २५ गते सजायको फैसला गरेको थियो ।
अदालतको फैसलापछि फरार रहेका गुरुङलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।
त्यस्तै कार्यालयले असार २२ गते पनि विभिन्न मुद्दामा फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरेको थियो ।