ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
सोमबार, आषाढ २७, २०७९ | ११:४५:४४
चितवन : चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना५ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना२६प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।