काभ्रे प्रहरीद्वारा सरकारी कागज दस्तखत मुद्दाका फरार प्रतिवादी पक्राउ

काभ्रे : केही समय यता जिल्लामा अपराधजन्य गतिविधि नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रिय बढ्दै गएको देखिन्छ । काभ्रे प्रहरीकै सक्रियतामा सरकारी कागज दस्तखत मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं २ का ३० वर्षीय भिम बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार उनलाई प्रहरीले काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नं ०६ बाट असार २८ गते पक्राउ गरेको हो ।
सरकारी कागज दस्तखत मुद्दामा फरार रहेका तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७४ साल भदौ १४ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका तामाङलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियतामा ५ वर्षपछि पक्राउ गर्न सफल भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।