आफ्नै भाइले गरे दाजुको हत्या

रूपन्देही : रूपन्देहीमा आफ्नै भाइले गरे दाजुको हत्या गरेका छन् । परिवारले लिएको ऋण तिर्ने विषयमा विवाद भएपछि रूपन्देहीको गैडहवा गाउँपालिका १ का उमेश भरले गत मंगलवार आफ्नै दाजु ३० वर्षीय महेश भरको हत्या गरेको प्रहरीले जनाएको छ ।

भर परिवारले २ वर्षअघि सूर्यपूरामा रहेको लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएको थियो । अहिले साँवा व्याज गरी १ लाख रुपैयाँ पुगेको थियो । ग्रामीण विकास लघुवित्तीय संस्था लिमिटेडबाट लिएको ऋणको व्याज बढिरहेको अवस्थामा मंगलबार दिउँसो लघुवित्तका प्रतिनिधि महेश भरको घरमा आई ऋण मिलानको ताकेता गरेका थिए ।

सोही साँझ उक्त ऋण कसले तिर्ने भन्ने विषयमा भर परिवारमा विवाद सिर्जना भएको थियो । विवादका क्रममा हात हालाहाल हुँदा महेश गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई भैरहवास्थित भीम अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

विवादले उग्ररूप लिँदै गएपछि हात हालाहालको स्थिति सिर्जना भएको  जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी निरीक्षक दीपक केसीले बताए । उनका अनुसार  ढुंगाले हानाहान हुने क्रममा महेशको टाउकोमा ठूलो चोट लागेको थियो । महेशकी पत्नी गीता भरलाई पनि ढुंगाले लागेपछि घाइते भएको केसीले प्रहरी निरीक्षक बताए ।

पत्नी गीताको उपचार भइरहेको छ । उपचारको क्रममा रहेकी गीताले उमेशसँगै बाबु फौदार, आमा चिनियाँ र बहिनीहरू रस्कला एवं शश्कला भरले आफूहरूलाई कुटपिट गरेको बताएकी छन् । घटनाको अनुसन्धानका लागि मृतकका बाबु, आमा, भाइ र द्वय बहिनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस