मोरङ : केही दिन यता मोरङ कारागारमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना संक्रमणका कारण कारागारमा रहेका एक संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपाल रहेका छन् । २०७६ साउन २५ देखि कारागारमा कैद सजाय भुक्तान गरिरहेका नेपाललाई १०४ डिग्री ज्वरो आएपछि विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो ।
आइसीयुमा राखेर उपचार भइरहेकोमा उपचारका क्रममा दिउँसो साढे १ बजेतिर मृत्यु भएको प्रहरी जनाएको छ । मृतकमा कोरोना पोजेटिभ देखिएको छ । मृतकको शव परिवारका सदस्यले बुझेर लगिसकेको प्रहरीले जनाएको छ ।
मृतक नेपालसहित अस्पतालमा भर्ना भएका सोही कारागारका १६ कैदीबन्दीहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ । अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका कैदी बन्दीहरुको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।
कारागारका १८ जना कैदी बन्दीलाई अत्यधिक ज्वरो आएपछि कारागार प्रशासनले बिहीबार उपचारका लागि अस्पताल पठाएको थियो । बिरामी भएर अस्पताल भर्ना भएकामध्ये १६ जनाको एन्टिजेन पोजेटिभ र २ जनाको नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए ।



















