पानी ट्याङ्कीमा डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु
मंगलबार, साउन ०३, २०७९ | १३:३९:३२
दैलेख : दैलेखमा पानी ट्याङ्कीमा डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका १२ वर्षीय छोरा दिनेश महत र नौ वर्षीया छोरी अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
कर्णाली नदी छेउमा कर्णाली कोटछाल लिफ्टिगं सिँचाई आयोजनाले निर्माण गरेको ट्याङ्कीमा डुबेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।
उनका अनुसार मृतक दुवैको पोष्टमार्टमका लागि दुल्लु अस्पताल, दैलेखमा राखिएको छ । स्थानीयले ट्याङ्की निर्माण गर्ने ठेकेदारको लापरवाहीको कारण उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।