काभ्रे प्रहरीको सक्रियतामा विभिन्न मुद्दामा फरार रहेका दुई प्रतिवादी पक्राउ
काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियतामा विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दामा फरार रहेका पाँचखाल नगपालिका वडा नं १ का ३० वर्षीय सन्त बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार हातहतियार खरखजाना मुद्दामा तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७७ साल माघ १८ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका तामाङलाई प्रहरीले आज श्रावण ३ गते पाँचखाल नगरपालिका वडा नं १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
त्यस्तै बोक्सीको आरोपमा फरार रहेका एक प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पनौती नगरपालिका वडा नं ४ का २७ वर्षीय विशु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार बोक्सीको आरोपमा तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७२ साल असार २२ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका तामाङलाई ७ वर्षपछि आज श्रावण ३ गते पनौती नगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।
उनका अनुसार पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।