काभ्रेका मतदाताले अब अनलाइनबाटै मतदाता नामावली फाराम भर्न पाउने

काभ्रे : काभ्रेका मतदाताले अब अनलाइनबाटै मतदाता नामावली फाराम भर्न पाउने भएका छन् । भोलि श्रावण ४ गतेदेखि काभ्रेसँगै पाँच जिल्लाबाट पनि अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाउने व्यवस्था लागू हुने भएको हो ।
सोमबार बसेको आयोगको बैठकले काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ्ग र झापा गरी थप ५ जिल्लाबाटसमेत अनलाइनबाट मतदाता नामावली फाराम भर्ने व्यवस्था मिलाउने निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माका अनुसार यसअघि काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्र अनलाइन प्रणालीबाट मतदाता नामावली फाराम भर्न पाउने व्यवस्था गरेको थियो । अनलाइन प्रणालीबाट प्रि–इन्ड्रोलमेन्ट गरिसकेपछि बायोमेट्रिक दिनका लागि भने नजिकै रहेको निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्छ ।