श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि आजबाट खुल्ला
काठमाडौं : श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आजबाट सर्वसाधारणका लागि आइपिओ खुल्ला गरेको छ । कम्पनीले आजदेखि साधारण शेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
कम्पनीले जारी पूँजी रु एक अर्ब ५९ करोड ३० लाखको १५ प्रतिशतले हुने प्रतिशेयर १०० अङ्कित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । सार्वजनिक आह्वान पत्रानुसार निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।
सर्वसाधारणलाई बिक्री खुला गरिएको शेयरमा लगानीकर्ताले आगामी साउन ८ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे साउन १८ सम्म न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिन्छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो शेयर’को वेबसाइट र मोबाइल एपमार्फत आवेदन दिन सक्ने छन् ।