नक्कली कागजका आधारमा जग्गा बिक्री गरी ठगी गर्ने एक जना पक्राउ

काभ्रे : नक्कली कागजका आधारमा जग्गा बिक्री गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हुँदै नभएको जग्गाको नक्कली जग्गा धनि पुर्जा र नक्सा सिट समेत देखाई जग्गा बिक्री गरी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेका हो ।
पक्राउ पर्नेमा धादिङ जिल्ला साविक जिवनपुर गाविस–५ घर भई हाल काभ्रेको बनेपा नगरपालिका–९ बस्ने ३७ वर्षीय रवि प्रसाद रेग्मी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियतामा श्रावण २ गते पक्राउ गरिएको हो ।
रेग्मीले बनेपा नगरपालिका–२ का ज्ञानबहादुर खड्गीलगायतको नाम तथा अन्य विभिन्न कित्ताको जग्गा आफ्नो नाममा रहेको भन्दै जग्गा किनवेच गर्नका लागि वैना वापतको रकम लिई ठगी गरेको प्रहरीले जनाएको छ । रेग्मीलाई प्रहरीले सोमबार राती बनेपाबाट पक्राउ गरेको हो भने मङ्गलबार जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि म्याद थप समेत गरेको छ ।
रेग्मीले नक्कली राजिनामा कागज, घर बाटोको सिफारिस पत्र, जग्गा धनि दर्ता प्रमाण पूर्जा जस्ता कागजातको आधारमा जग्गा पास गरि दिई मालपोत कार्यालयबाट जारी गरिने जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत किर्ते गरी ठगी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।
रेग्मीले हुँदै नभएको जग्गाको नक्कली कागजात तयार गरी मालपोतका कर्मचारी चिनेको छु भन्दै नक्कली पूर्जा दिई पिडितहरुबाट एक करोड २१ लाख पचास हजार रुपैँया ठगी गरेको उनले जानकारी दिए ।
उनका अनुसार प्रहरीले ठगी आरोपमा पक्राउ परेका रेग्मीको घर खानतलासी गर्ने क्रममा आठ लाख पचास हजार रुपियाँ नगद र विभिन्न कागजात बरामद गरेको छ । रेग्मी बिरुद्ध पिडितहरुले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम ठगी गर्न नहुने कसुर अन्तर्गत जाहेरी दर्ता गराएका छन् ।
प्रहरीले लेखापढी व्यवसाय गर्ने पनौती नगरपालिका– ९ का राजन थापा र उनकी श्रीमती सिता कुमारी थापाले किर्ते कागजात बनाउन सहयोग गरेको खुल्न आएकोले उनीहरु को लेखनदास कार्यालयबाट समेत कसुरसँग प्रमाण लाग्ने विभिन्न उपकरण बरामद गरेको जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । ठगी आरोपमा पक्राउ परेका रेग्मी विरुद्ध २०६८ असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र २०६९ चैत्र १० गते जिल्ला प्रहरी परिसर काठमाण्डौबाट ठगी मुद्दामा मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट समेत खुल्न आएको छ ।