सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा काभ्रे नमोबुद्धका एक पुरुष पक्राउ

काभ्रे : सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा जिल्लाको नमोबुद्ध नगरपालिकाका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भइ काठमाडौं बौद्धमा बस्ने कर्म वाङ सिङ लामा रहेका छन् ।
उनलाई प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा श्रावण ४ गते पक्राउ गरेका हो ।
उनले सामाजिक सञ्जाल फेसबुकमा तेश्रो लिङ्गीका तस्बिर आफ्नो फेक एकाउन्ट बनाई प्रोफाईल तथा कभरमा राखेर पीडितका साथीहरुसँग कुराकानी गरी पैसा समेत माग गरेको प्रहरीले जनाएको छ । यस्तै उनले राइडर एप्लिकेसन इनड्राइभरको दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको पाइएपछि पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई बिहीबार जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।