
काभ्रे : केही दिन यता काभ्रेमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा काभ्रेमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा ६ जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५२ जनामा गरिएको कोरोना परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले २२ जना महिला र २४ जना पुरुष गरी ४६ जना सक्रिय संक्रमित रहेका छन् ।
काभ्रेका १३ स्थानीय तहमध्ये अहिले धुलिखेल नगरपालिकामा धेरै सक्रिय कोरोना संक्रमित रहेका उनले बताए । जहाँ १३ जना महिला र १२ जना पुरुष गरी २५ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।