बाँझो पाखामा जडीबुटी खेती गर्दै गुर्जो अभियान्ता राजलवट
काभ्रे : जिल्लाको बनेपा नगरपालिका वडा नं १० स्थित जनागालमा प्रयोगमा नआएका बाँझो पाखामा जडीबुटी खेती गरिएको छ । गुर्जो अभियान्ता कमल बहादुर राजलवटले बाँझो पाखोमा जडीबुटीका विरुवाहरु रोप्ने जमर्को गरिरहेका छन् ।
जग्गाधनी अर्जुन बजगाई र योगेन्द्र कुवँरले उक्त स्थानमा भएको आफ्नो जग्गाको ३८ रोपनी क्षेत्रफलमा गुजडीबुटी रोपणका लागि निःशुल्क उपलब्ध गराएको गुर्जो अभियान्ता राजलवटले बताए । उनका अनुसार अहिले यहाँ गुर्जो, सयपत्री, लेमनग्रास, गोदावरी, तुलसी, जाइफुल, असुरो, पारिजात, पथाईचट्टा, स्टेभिया लगायतका जडीबुटीका विरुवा रोपिएका छन् ।
जडीबुटी रोपणका लागि उपलब्ध भएको ३८ रोपणीमध्ये अहिले थोरै क्षेत्रफलमा मात्रै जडीबुटीका विरुवाहरु रोपिएको बताउँदै उनले भने, ‘अहिले सानो क्षेत्रफलमा हामीले जडीबुटीका विरुवा रोपेका छौँ । क्रमिक रुपमा बिस्तारै यसलाई बिस्तार गर्दै जानेछौँ ।’ उनको यस कार्यमा उनको परिवार लगायत स्थानीयले पनि सहकार्य गर्दै आएका छन्।
गुर्जो अभियान्ता राजलवटलाई बनेपासँगै जिल्लाको पाँचखाल नगरपालिकामा पनि जडीबुटी रोपणका लागि निःशुल्क जग्गा उपलब्ध भएको छ । चाँदनी शाहले काभ्रेको पाँचखालस्थित् लुईंटेल टोलमा रहेको आफ्नो रोपनी भन्दा बढि जग्गा जडिबुटी रोपणको लागि निःशुल्क उपलब्ध गराएकी छिन् ।
उक्त स्थानमा गुर्जो, लेमनग्रसालगायतका जडिबुटी रोप्नको लागि जग्गा प्रदानको लागि गरेको आग्रहलाई शाहले स्विकार गरेकी हुन् । जडिबुटी रोपन, गोडमेलको काममा पनि राजलवट सक्रिय भएका छन् । सो क्रममा उनलाई दाजु रमेशबहादुर राजलवट, गोपाल खड्का, स्थानीय दिलबहादुर श्रेष्ठ, लक्ष्मण लुईंटेल र उनका परिवारका सदस्यहरुले सघाएका छन् ।