गौतमश्री सहकारीका सञ्चालक फरार भएपछि १ हजार ७५ जना बचतकर्ताले दिए उजुरी
काठमाडौँ : गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक फरार भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १४ को कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक भएपछि बचत फिर्ताको माग गर्दै बचतकर्ता सहकारी विभागमा पुगेका छन् ।
करिब एक साताअघि आन्तरिक प्रयोजनका लागि एक साता कारोबार रोक्का रहने सूचना जारी गरिएकोमा हाल सहकारीका सञ्चालक र कर्मचारीहरू सम्पर्कमा छैनन् । सहकारीमा जम्मा गरेको बचत फिर्ताको माग गर्दै सोमबारसम्म १ हजार ७५ जना पीडित (बचतकर्ता)को उजुरी प्राप्त भएको विभागका उपरजिस्टार टोलराज उपाध्यायले बताए ।
‘उजुरी आउने क्रम जारी रहेकाले बचतकर्ताको संख्या बढ्न सक्छ,’ उनले भने, ‘सहकारीका सञ्चालक सम्पर्कमा नआएपछि संस्थाका सञ्चालक, कर्मचारीलाई पक्राउ गरेर विभागमा बुझाउन प्रहरीलाई पत्र लेखेका छौं ।’ यस्तै, सहकारी संस्थाको बैंक खाता र चल अचल सम्पत्ति रोक्का गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको उनले जानकारी दिए ।