अवैध लागुऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट करिब ३ ग्राम २ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित डोटी बडिकेदार गाउँपालिका-१ बस्ने २८ वर्षीय बसन्त मौनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया, गुलरिया नगरपालिका-१२ स्थित मनैया सामुदायिक वनबाट करिब ४ सय ९० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका सुर्जगौडी गाउँ बस्ने १९ वर्षीय राकेश श्रीबास्तव र ३० वर्षीय नुरुदिन गड्डी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट भे.६ प १८१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीय अरुन पुन मगर समेत ४ जनालाई करिब ८ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूले लागुऔषध बेचविखन गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
साथै दाङ, घोराही उपमहानगरपालिका-१७ कर्जाही क्वाडीबाट २ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २४ वर्षीय रन्जित भण्डारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भण्डारीले उक्त स्थानमा लागुऔषध बेचविखन गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-८ बाबानगरस्थित पालगंजबाट करिब ५ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-५ एनसीसीएन बस्ने २८ वर्षीय निर्मल सिंह ठकुरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भे.११ प ७८१८ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब ८ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका-१० बस्ने २९ वर्षीय दिपेश परियार र सोही नगरपालिका-७ बस्ने २९ वर्षीय नारायण बुढाथापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको भे.३ प २७६२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ फेदीबाट करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित शहिदभूमि गाउँपालिका-७ बस्ने २६ वर्षीय प्रदिप राई र १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.३९ प ६५६७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-११ बुट्टाबारीबाट करिब १ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । आइसाको डेरामा लागुऔषध राखेको भन्ने विशेष सूचनाको आधारमा अस्थाई प्रहरी चौकी सालवारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।