काभ्रे कोरोना अपडेट : २१ जनामा संक्रमण, १० जना संक्रमणमुक्त

काभ्रे : पछिल्लो २४ घण्टामा काभ्रेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका १० जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ६६ वटा परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम राज सेढाईँले जानकारी दिए । उनका अनुसार जिल्लामा अहिले १ सय १७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
जिल्लाको १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन् । जहाँ ४७ जना महिला र १२ जना पुरुष गरी ५९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै जिल्लाको रोशी गाउँपालिका, तेमाल गाउँपालिका, खानीखोला गाउँपालिका र महाभारत गाउँपालिका गरी चार वटा स्थानीय तहमा कोरोना संक्रमितको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।