घरदैलोमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्दै नमोबुद्ध नगरपालिका

काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण कार्यको सुरुवात गरेको छ । नगरपालिकाले वडा नं १ बाट घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्यको सुरुवात गरिएको नगरपालिकाका प्रमुख कुन्साङ लामाले जानकारी दिए ।

उनका अनुसार नगरले पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरुलाई भत्ता वितरण गर्न वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी स्थानीयस्तर र वडास्तरमै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने निर्णय अनुरुप त्यसको कार्यान्वयन वडा नं १ बाट सुरु गरिएको छ ।

‘सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गरिने भए पनि नगरको भौगोलिक अवस्था, अशक्तहरुलाई घरदैलोमा नै सेवा दिने निर्णय गरेका थियौं, त्यसलाई प्राथमिकता दिएर कार्यान्वयन गरेका हौं,’ नगर प्रमुख लामाले भने, ‘अन्य वडामा पनि क्रमशः कार्यान्वयन गर्दै जान्छौं ।’

सबै वडामा  सामाजिक सुरक्षा भत्ता वितरणका लागि तालिका सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए । उनका अनुसार धेरै ग्रामीण भूभाग समेटेर बनेको नगरपालिकाको केन्द्र भकुण्डेबेंसीमा मात्रै बैंकका शाखा छन् ।

सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही घण्टौं हिँडेर र बोकिएर बैंकसम्म आउने गरेका छन् । घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएपछि घण्टौँ बाटो हिँड्नु र सेवाका लागि घण्टौँसम्म लाइनमा बस्नुपर्ने समस्या अब सेवाग्राहीले भोग्नुनपर्ने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय