एआईजी पोखरेल आजबाट अनिवार्य अवकाशमा

काठमाडौं : नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले आज (साउन २०) बाट अनिवार्य अवकाश पाएका छन् । प्रहरी नियमावलीमा विद्यमान एआईजीको ५६ वर्षे उमेरहदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका हुन् ।
धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा लडेका एआईजी पोखरेलको राजिनामा पत्र नेपाल प्रहरी प्रधान कार्यालयमा करिब तीन सातादेखि दिनदेखि अलपत्र अवस्थामा थियो ।
गत बैशाख १९ गतेदेखि लामो बिदा बसेर सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका एआईजी पोखरेलको रिट निवेदनको अन्तिम सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र डा। कुमार चुडालको संयुक्त इजलासले गत असार ३१ गते रिट खारेज गरिदिएको थियो ।
प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको नियुक्ति खारेज गरि आफुलाई आईजीपी नियुक्ति गराइपाउ भन्दै सर्वोच्चको शरणमा पुगेका एआईजी पोखरेलले रिट खारेजसंगै साउन २ गते नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजिनामा पत्र बुझाएका थिए ।
गत बैशाख १८ को मन्त्रिपरिषद् बैठकले तत्कालीन एआईजी धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरेर आफूमाथि अन्याय गरेको भनी अदालतमा गएका पोखरेल अदालतमा मुद्दा हारेपछि राजिनामा बुझाएका थिए ।
चुनावको मुखमा लामो बिदा बसेर सरकारको निर्णयलाई चुनौती दिएपछि उनको राजिनामा स्वीकृत गर्न सरकारले खासै चासो दिएन । राजिनामा स्वीकृतिको प्रक्रिया अगाडी नबढेपछि एआईजी पोखरेल अन्ततः एआईजीको ५६ वर्षे उमेरहदका कारण आजदेखि अनिवार्य अवकाश पाएका छन् ।
पोखरेलले तीन साता अगाडि बुझाएको रजिनामा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाबाट अगाडी बढेको थिएन । आफुले दिएको राजिनामा स्वीकृत नहुँदै उमेरहदका कारण अवकाश पाएका पोखरेललाई अब नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले अवकाश पत्र दिनेछ ।