
काभ्रे : काठमाडौँ विश्वविद्यालयको स्नातकोत्तर तहमा सञ्चार विषयमा अध्ययन हुने भएको छ । विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट स्नातकोत्तर तहमा पनि सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको हो ।
विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरिएको विभागका प्रमुख डा.सुधाम्शु दाहालले जानकारी दिए।
उनका अनुसार एक शैक्षिक सत्रमा २० जना विद्यार्थीसम्म रहने यो तहमा एसियाको मौलिक परम्परा, संस्कृति, चलचित्र र प्रविधिलाई आधारशीला मानेर सञ्चारमाध्यमका विभिन्न आयामको अध्ययन हुनेछ ।
उक्त तहमा एक चौथाइ अनुसन्धानसहित प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण हुने र उत्पादित जनशक्ति अन्तार्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र रोजगारमूलक हुने विश्वविद्यालयका सहप्राध्यापक डा.निर्मलमणि अधिकारीले बताए । उनका अनुसार सो तहमा अध्ययनका लागि रु चार लाखसम्म शुल्क लाग्ने र कुल विद्यार्थीको २० प्रतिशतसम्म छात्रवृत्ति दिइने छ ।