पनौतीमा ‘अफ्रिकन स्वाइन फिवर’को संक्रमण बढ्दो : छ सय बंगुर मरे
काभ्रे : जिल्लाको पनौती नगरपालिकामा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को संक्रमणको जोखिम बढ्दै गएको छ । ‘अफ्रिकन स्वाइन फिवर’को संक्रमणका कारण नगरमा ठूलो संख्यामा पशु मरेका छन् ।
उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बंगुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५स्थित टिम भिजन एग्रिकल्चर प्राली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बंगुर फार्ममा क्षति पु¥याएको हो ।
शाखाप्रमुख लीलाप्रसाद सापकोटाका अनुसार उक्त रोगका कारण हालसम्म किसानको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिकरुपमा पालिएको बंगुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो ।
नगरले निसङ्क्रमणका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ । ‘रोगबाट मरेका पशुलाई व्यवस्थित तवरले जमिनमा गाडिएको छ, थप सङ्क्रमण हुन नदिन हाम्रो टोलीले निसङ्क्रमणका विधि अपनाइरहेको छ’, उनले भने ।
शाखाप्रमुख सापकोटाका अनुसार नगर विपद् व्यवस्थापन समितिले स्थानीय किसानको क्षतिपूर्तिका लागि छलफल अघि बढाएकोे छ । यस्तै सम्भावित क्षेत्रमा थप परीक्षणको तयारी भइरहेको छ ।
नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त संक्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ । व्यावसायिक रुपमा फार्ममा पालिएका बंगुरमा गत सोमबार मात्रै उक्त संक्रमण पुष्टि भएको थियो ।