एक सातामा १०९ जनामा डेंगु संक्रमण पुष्टि
काठमाडौं : केही दिन यता देशका विभिन्न स्थानमा डेंगु संक्रमितको संख्यामा बृद्धि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत एक सातामा मात्रै देशभर १०९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।
जसमध्ये रुपन्देही जिल्लामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । जहाँ ३९ जना डेंगुका संक्रमित रहेका छन् । त्यस्तै सिन्धुलीमा ८, गुल्मीमा ६, काठमाडौं, ललितपुर र कपिलवस्तुमा ५र५, धादिङमा ४, अर्घाखाँची, रामेछाप, दाङ, प्युठान, लमजुङमा ३र३ जनामा एकै सातामा संक्रमण पाईएको हो।
पछिल्लो एक महिनामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको महाशाखाको तथ्यांकले देखाएको छ। महाशाखाका अनुसार बितेको ३० दिनमा मात्रै विभिन्न जिल्लाका ३९८ जनामा डेंगु पुष्टि भएको छ। यस वर्षको जनवरीदेखि अगस्ट ४ सम्ममा ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
केहीदिन अघिमात्रै ललितपुरमा ३१ र मकवानपुरको हेटौंडा उपमहानगरका ४० जनामा डेंगु संक्रमण पाइएको थियो। अघिल्लो वर्षको यही अवधिमा जम्मा ९ जनामा डेंगु संक्रमण पाईएको थियो।