चुनाव जित्न जाल झेल गरिएको : सभापति लामिछाने
काभ्रे : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव जित्न जाल झेल गरिएकोमा आरोप लगाएका छन् ।
आज (सोमबार) काभ्रेको बनेपामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको काभ्रेपलाञ्चोक जिल्ला भेलालाई बनेपामा सम्बोधन गर्ने क्रममा गठबन्धनमा आवद्ध दलतर्फ संकेत गर्दै सभापति लामिछानेले जसरी पनि चुनाव जित्न जाल झेल गरिएको आरोप लगाएका हुन् । विचारै नमिले पनि दलहरूले एकअर्कासँग बसेर साँगगाँठ गरिरहेको उनको आरोप छ ।
सभापति लामिछानेले अध्यक्ष केपी ओलीलाई नेता भएर गर्नुपर्ने कामको हेक्का राख्न पनि चुनौती दिएका छन् । नेता भएर देश र जनताको लागि काम गर्नुपर्नेमा ओलिमाथि प्रश्न गर्दै उनले भने, ‘कोभिडको महामारीको समयमा समेत भ्रष्टचार गर्नुपर्ने ? ठेकेदारसंग कमिसन खाएर जनता हिड्ने बाटो बिगार्नुपर्ने ? ह्वाइटबडीमा कमिसन खानुपर्ने ?’ आफ्नो पार्टीले यस्तो प्रबृतिको कुनै पनि काम नगर्ने लामिछानेले प्रतिबद्धता व्यक्त गरे ।
देश परिवर्तनका लागि प्रमुख दलका प्रमुख नेताको ठूलो योगदान भए पनि अब भने विश्राम लिन उनले सुझाव दिए । उनका अनुसार नेपालका २५ जना नेताले राजनीतिबाट विश्राम लिने हो भने देशले काँचुली फेर्नेछ । उहाँहरुले विश्राम लिने हो भने नयाँ पुस्ताले मुलुक हाक्नेमा आफू विश्वस्त रहेको सभापति लामिछानेले बताए ।
सभापति लामिछानेले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टी सहभागि हुने भन्दै घण्टी चिन्हमा मतदान गरेर नयाँ र स्वच्छ छवि भएका व्यक्तिलाई कानुन बनाउने ठाउँमा पठाउन काभ्रेली जनतालाई उनले आग्रह समेत गरे ।