भुम्लुका किसानलाई जैविक मल बनाउने तालिम
काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकाका किसानलाई जैविक मल बनाउने तालिम प्रदान गरिएको छ । गाउँपालिकाले स्थानीय किसानहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्नका लागि जैविक मल बनाउने तालिम सुरु गरेको हो ।
किसानले खेतीको समयमा मल खरिद गर्नसमेत नपाएपछि समस्या व्यहोर्नुपरेको अवस्था रहेको भन्दै गाउँपालिकाले जैविक मल उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्धेश्यले सो तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छि विकासमन्त्री बसुन्धरा हुँमागाईले कृषि क्षेत्रको विकासको निम्ति सम्भावनाको खोजी गर्दै ५५ बुँदे मार्गचित्र बनाएर अगाडी बढिरहेको बताए। जसमध्ये प्रांगारिक मल, जैविक मल र गड्यौला मल उत्पादन र व्यवस्थापन गर्ने गरी बजेटको समेत व्यवस्थापन गरेको उनको भनाई छ।
अहिले गाउँघरमा स्थानीयस्तरमा नै उत्पादन भएका शुद्ध कृषिउपजहरु पाउन गाह्रो भईरहेको अवस्थामा स्वस्थ जीवन बाँच्नका लागि पनि आवश्यक अर्गानिक कृषि उत्पादनमा जोड दिनका लागि बजेटको समेत व्यवस्था गरी किसानलाई अर्गानिक कृषि उत्पादनतर्फ अग्रसर गराउन जैविक मल बनाउने प्रशिक्षण शुरु गरेको गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले बताए।
कार्यक्रममा सहभागिहरुलाई प्रशिक्षक शंकर पाण्डेले मलको उत्पादन, प्रयोग र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए। तालिममा गाउँपालिका भित्रका प्रत्येक वडाबाट दश जना किसानको सहभागिता हुनेगरी एक सय जना किसानलाई मल बनाउने विधि सिकाईएको छ।