बनेपालाई हरियाली बनाउन ग्रिन बेल्टमा वृक्षारोपण

काभ्रे : बनेपालाई हरियाली बनाउन अरनिको राजमार्गको बनेपा खण्ड अन्तर्गत पुलबजारबाट बुडोलसम्मको राजमार्गको दायाँबायाँ ग्रिन बेल्टमा वृक्षारोपण गरिएको छ । रोटरी क्लब अफ काभ्रे भ्याली र रोटरी क्लब अफ काभ्रे बनेपाको संयुक्त आयोजनामा आज राजमार्गको दायाँबायाँ ग्रिन बेल्टमा वृक्षारोपण गरिएको हो ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले वृक्षारोपण शुभारम्भ गर्दै बनेपालाई हरियालीसँगै स्वच्छ वातावरणमा राख्न सरसफाई, पार्किङ्ग तथा खानेपानीको ब्यवस्थापनको कार्य प्रारम्भ गरिएको बताए । उनका अनुसार बनेपालाई ग्रिनसिटीका रुपमा विकास गर्न अन्य स्थानमा पनि वृक्षारोपण आवश्यक छ । पहिलो चरणमा फुटपाथ व्यवस्थापन गर्ने र सरसफाईलाई प्राथमिकता दिएको बताउँदै नगर प्रमुख शाक्यले वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिन विभिन्न संघ संस्थाको समन्वय आवश्यक रहेको उनको भनाई थियो ।

वृक्षारोपण कार्यक्रममा उपप्रमुख विमला सापकोटाले बनेपा नगरपालिकालाई हरियाली बनाउन वृक्षारोपणसँगै ध्वनी प्रदूषण नियन्त्रण गर्नु पर्ने बताउँदै, नगरपालिकालाई सबै क्षेत्रबाट स्वस्थ राख्न सरसफाईलाई विशेष जोड दिइन् । वृक्षरोपणपछि यसको संरक्षणका लागि पनि तयारी भएको उपप्रमुख सापकोटाले बताइन् ।

वृक्षारोपण गरिएका सबै विरुवाहरुलाई संरक्षणका लागि बृक्षारोपण सँगै तार जाली लगाउन सुरु गरिएको अध्यक्ष अनुपकुमार श्रेष्ठले बताए । उनका अनुसार बनेपालाई हरियाली बनाउने अभियान अन्तर्गत वृक्षारोपण सुरु गरिएको बताउँदै अध्यक्ष श्रेष्ठले बताउँदै भने, ‘वृक्षारोपण बिहान, बेलुका र अन्य दिनमा पनि नियमित हुनेछ ।’ विरुवा हुर्कनु अघि आफ्नो घर अघि रहेका विरुवाहरुलाई नियमित पानी राख्न र संरक्षण गर्न बनेपाबासीहरुलाई उनले अनुरोध गरे ।

उक्त क्षेत्रमा ८ सय वटा विरुवा रोपण गरिनेछ । कपुर, कल्की, ज्याकराण्डा लगायतका विभिन्न प्रजातिका विरुवाहरु वृक्षारोपणमा समावेश गरिएको छ। वृक्षारोपणका लागि बनेपा नगरपालिका, ग्रिन भ्याली ग्रिन नेपाल, बनेपा ग्रिन इनिसेटिभ नामक संस्थाहरुले सहयोग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस