ललितपुरमा एक पुरूष मृत अवस्थामा फेला
सोमबार, साउन ३०, २०७९ | १६:५७:३६

ललितपुर : ललितपुरमा एक पुरूष मृत फेला परेका छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ ठेंचोमा सोमबार बिहान करिब ६ बजे खेतबारीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
मृतक सोही ठाउँमा बस्ने ३० वर्षीय राजेन्द्र देसार रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। उनका अनुसार उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।
बिहान शव फेला परेको खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। पोष्टमर्टमका लागि शव ललितपुरको पाटन अस्पताल पठाइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।