काभ्रे प्रहरीको सक्रियता : विभिन्न मुद्धामा फरार रहेका प्रतिवादी धमाधम पक्राउ

काभ्रे : केही दिन यता जिल्लामा अपराधिक क्रियाकलाप नियन्त्रणमा काभ्रे प्रहरीको सक्रियता बढ्दै गएको देखिन्छ । आज मात्रै काभ्रे प्रहरीको सक्रियतामा विभिन्न मुद्धामा फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सवारी ज्यान मुद्धामा फरार रहेका सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं २ का २७ वर्षीय लक्ष्मण भारतीलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्धामा भारतीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७६ असार १६ गते २९ दिन कैद सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका भारतीलाई प्रहरीले श्रावण ३० गते धुलिखेल नगरपालिका वडा नं ७ स्थित सरस्वती बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।

त्यस्तै बहुविवाह मुद्धामा फरार रहेकी जिल्लाको रोशी गाउँपालिका वडा नं ९ की ३७ वर्षीय रश्मी लामा थिङलाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्धा शिर्षकमा रश्मीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७६ पौष १७ गते १ वर्ष र ३ महिना कैद र १० हजार रुपैँया जरिवाना सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेकी रश्मीलाई प्रहरी श्रावण ३० गते धुलिखेल नगरपालिका वडा नं ७ स्थित अड्डाबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै आज नै प्रहरीले भुम्लुका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । कुटपिट मुद्धामा फरार भुम्लु गाउँपालिका वडा नं ४ का बिना पहरी र चित्र बहादुर, धन बहादुर पहरी भनिने दिल बहादुर पहरीलाई श्रावण ३० गते पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै काभ्रे प्रहरीको सक्रियतामा हिजो श्रावण २९ गते पनि विभिन्न मुद्धामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय