केन्याविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी
काठमाडौँ : केन्याविरुद्धको टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । आज सम्पन्न खेलमा नेपाल पाँच विकेटले विजयी भएको हो ।
१३१ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदा पाँच विकेट गुमाएर भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान दिए । आरिफ शेखले अविजित २४, ज्ञानेन्द्र मल्ले २३, आसिफ शेखले १९ र रोहित पौडेलले १३ रन जोडे । केन्याका लागि विराज पटेल र लुकास ओलुचले दुइ–दुर्ई तथा नेहम्याह ओधिएम्बाले एक विकेट लिए ।
यसअघिनैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित २० ओभरमा ८आठ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।उसका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान दिए । लुकास ओलुचले अविजित ३१, नेल्सन ओडिम्बेले १९, सचिन बुदियाले १७ र कोलिन्स ओबुयाले १२ रन जोडे।
नेपालका लागि सोमपाल कामीले तीन, कप्तान सन्दीप लामिछानले दुई तथा आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे । यो जितसँगै नेपालले पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल भोली हुनेछ ।