केन्यासँग नेपालले टी–२० सिरिजको दोस्रो खेलका लागि प्रतिस्पर्धा गर्ने
शुक्रबार, भाद्र १०, २०७९ | ९:१९:२१
काठमाडौँ : केन्यासँग टी–२० सिरिजको दोस्रो खेलका लागि नेपालले आज (शुक्रबार) प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ।
पहिलो खेलमा सहज जित निकालेको नेपाल केन्यालाई घरेलु मैदानमै दोस्रो हार चखाउने ध्याउन्नमा हुनेछ। पहिलो खेलमा पराजित केन्या भने दोस्रो खेलमा जित निकाल्दै सिरिजमा फर्कने लक्ष्यमा रहेको छ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराउँदै पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
नेपालले केन्याविरुद्ध तेस्रो खेल १२ भदौमा खेल्ने छ। त्यस्तै दुई टोलीबीच चौँथो खेल १३ भदौमा हुँदा अन्तिम टी-२० भने १४ भदौमा हुनेछ। टी-२० सिरिज पछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ।