धनगढीमा सुर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक लगाइने
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकामा सुर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक लगाइने भएको छ ।
असोज १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य बस्तुको बिक्री वितरणमा रोक लगाइने बारे उपमहानगरपालिकाले जानकारी गराएको छ ।उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै बिक्री वितरणमा असोज १ गतेदेखि रोक लगाउने जनाएको हो ।
जारी सूचनामा भनिएको छ, ‘भदौ १ गते बसेको धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार नगर समस्याग्रस्त भएको फोहोरको रुपमा बजारमा उपभोग भएको सुर्तीजन्य बस्तुहरु जस्तै सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा, प्लाष्टिकजन्य गिलास, कप, झोलाहरुको बिक्री वितरणमा असोज १ गतेदेखि लागू हुनेगरी निषेध गरिएकाले यस कार्यमा सहयोग पुर्याउन अनुरोध छ ।’
उपमहानगरले चालु आर्थिक वर्ष २०७९/२०८० लाई सरसफाई वर्षका रुपमा मनाउने भएको छ । जसअनुसार नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ र प्लाष्टिकजन्य वस्तुको बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यपालिका बैठकबाट गरिएको जनाइएको छ ।
जारी सूचना अनुसार प्रथम पटकलाई ढल मिसाउने १० हजार रुपैयाँ जरिवाना र दोस्रो पटक दोहो¥याएमा संरचना भत्काइने चेतावनी दिइएको छ । यस्तै अन्य फोहर फाल्नेहरूलाई पहिलो पटक १ हजार, दोस्रो पटक ३ हजार र तेस्रो पटक ५ हजार रुपैयाँसम्म जरिवाना गरिने सूचनामा उल्लेख छ ।