आज कुशे औंसी : बुवाको मुख हेर्ने दिन
काठमाडौं : आज भाद्र कृष्ण औंसी, आज घरघरमा पवित्र कुश भित्र्याएर कुशे औंसी मनाइँदैछ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।
कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्ने गरिएको हो ।
यसका साथै आज बुवाको मुख हेर्ने दिन पनि रहेको छ । आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ ।