आइतबार, माघ ११, २०८२
बालिकालाई विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने एक युवक पक्राउ

सल्यान : सल्यानमा बालिकालाई विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सल्यानको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर घर भएका १४ वर्षीया र १७ वर्षीया दुई बालिकालाई विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुवै बालिकाहरूमाथि विवाहको प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । लक्ष्मीपुरकी १४ वर्षीया बालिका र १७ वर्षीया बालिकामाथि कालिमाटी गाउँपालिका ४ का १९ वर्षीय छविलाल गिरी र २० वर्षीय मेघराज थापाले विवाह गर्ने लालच देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

उनका अनुसार कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरको त्रिज माविमा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको खुलासा भएको हो । विवाह गर्ने लालचमा बलात्कार गरेपछि दुई बालिकालाई जंगलमा छाडी दुवै जना पुरुषहरू फरार भएका थिए ।

पीडितका आफन्तले किटानी जाहेरीसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई खोजतलास गर्ने क्रममा छविलाल गिरीलाई पक्राउ गरिएको थियो । साथै जबर्जस्ती करणी मुद्दा शिर्षकमा जिल्ला अदालत सल्यानबाट आठ दिनका लागि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्का आरोपित मेघराज थापा भने फरार रहेका छन् । उनलाई पक्राउका लागि जिल्ला अदालतबाट अनुमति लिएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय