अफगानिस्तानमा बाढीका कारण १८ जनाको मृत्यु
सोमबार, भाद्र १३, २०७९ | १८:०४:३६
अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन्।
आइतबार दिउँसो उक्त प्रान्तको सार्कानो जिल्लाका अधिकांश गाउँ बाढीले बगाएको र महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। बाढीमा परेर ४० जना घाइते भएका छन्।
अविरल वर्षा र बाढीका कारण सो जिल्लामा ५ सय ७९ घर ध्वस्त भएका बताइएको छ। त्यसैगरी गरी भारी वर्षाका कारण आएको अचानक बाढीका कारण दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा शनिबार २ बालबालिका सहित ७ जनाको ज्यान गएको थियो भने अन्य ११ जना घाइते भएका छन्।
अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण गत एक महिनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्।