झापा : झापामा मेची नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। भद्रपुर नगरपालिका-३ रंगिलाचोक निवासी भूपाल भुजेलको १९ वर्षीय छोरा सामुएल भुजेल मेची नदीमा बेपत्ता भएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
उनका अनुसार सोमबार दिउँसो साढे ४ बजे भद्रपुर(५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी तैरिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको हो। सामुएलसँगै उनका साथी पनि थिए। दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएर बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।
उनको खोजी कार्य जारी छ। भद्रपुरदेखि पाठामारीसम्म सशस्त्र, नेपाल प्रहरी र स्थानीयबासीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।



















