काठमाडौँ : टी–२० सिरिजको चौँथो खेलमा केन्यासँग नेपाल ७ रनले पराजित भएको छ । पराजित भएसँगै ५ खेलको टी–२० सिरिज २–२ को रोमाञ्चक अवस्थामा पुगेको छ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको केन्याले १ सय १ रन बनाएको थियो। १ सय २ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङको सिकार हुँदा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनमा समेटिन पुगेको थियो।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाउँदा आदील अन्सारीले ८ रन जोडेका थिए। दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए। करण केसीले ५ रन बनाउँदा आरिफ शेख २ रनमा आउट भए। पवन सर्राफ र सोमपाल कामीले खाता खोल्न सकेनन्।
सन्दीप लामिछाने ४ रनमा अविजित रहँदा साहब आलम शून्य रनमा अविजित रहे। केन्याका लागि रकिप पटेलले ३ विकेट लिँदा भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले २–२ विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो।
केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए। त्यस्तै, कोलिन्स अबुयाले २० रन बनाउँदा कप्तान शेम एन्गोचेले १३ रन जोडेका थिए। केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएका थिए। उत्कृष्ट बलिङ गरेका उनले ४ ओभरमा मात्र ९ रन खर्चिए। त्यस्तै आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।
अब निर्णायक मानिएको पाँचौ टी–२० मंगलबार हुनेछ। टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्ने कार्यतालिका रहेको छ।





















