
पाउलो डिबालाले दुई गोल गरेको खेलमा एएस रोमाले मंगलबार राति इटालियन सिरी ‘ए’मा मोन्जालाई ३–० ले पराजित गरेको छ । त्यस्तै अर्को खेलमा इन्टर मिलानले क्रेमोनेजलाई ३–१ ले हरायो ।
रोमाले घरेलु मैदानमा १८औं मिनेटमा डिबालाको गोलबाट अग्रता लिएको थियो । युभेन्टसबाट यसै सिजन रोमासँग अनुबन्ध भएका डिबालाले ३२औं मिनेटमा अग्रता दोब्बर बनाए । ६१औं मिनेटमा रोजर इबानेजले अर्को गोल थपेपछि रोमाले जित पक्का गरेको हो ।
चार खेलबाट १० अंक जोडेको रोमा लिगको शीर्ष स्थानमा छ । अंकबिहीन मोन्जा भने लिगको पुछारमा छ । चार खेलबाट ९ अंक जोडेको इन्टर मिलान दोस्रो स्थानमा छ ।
इन्टरले गएराति क्रेमोनेजलाई ३–१ ले हराएको हो । इन्टरको जितमा जोक्विन कोरेया, निकोला बरेला र लाउटारो मार्टिनेजले गोल गरे । क्रेमोनेजका डेबिड कोकेरेकले अन्तिम समयमा गरेको गोल टिमका लागि सान्त्वना बन्यो ।